
मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सरकारको नीति तथा कार्यक्रम जेठ १५ लगत्तै सार्वजनिक गरिने जानकारी दिनुभएको छ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखीले नीति तथा कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिँदै यसपटकको बजेट सञ्चारमैत्री हुने उल्लेख गर्नुभयो। उहाँका अनुसार मन्त्रिपरिषद्ले पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेटको ढाँचा तयार गरिरहेको छ।
मन्त्री लेखीले असार १ गतेअघि नै बजेट तथा कार्यक्रम ल्याइने प्रष्ट पार्नुभयो। चालु आर्थिक वर्षमा सञ्चार मन्त्रालयलाई न्यून बजेट विनियोजन भएकोले अपेक्षित काम गर्न नसकेको स्वीकार्दै आउँदो वर्षमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिने बताउनुभयो।
शान्ति सुरक्षासम्बन्धी विषयमा बोल्दै मन्त्री लेखीले मधेश प्रदेशमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका संरचना कमजोर रहेको भन्दै तिनको सुदृढीकरण र नयाँ संरचना निर्माणमा बजेट विनियोजन गरिने जानकारी दिनुभयो।
त्यस्तै, चालु आर्थिक वर्षमा शहीदका छोराछोरीलाई छात्रवृत्तिका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्दै शहीद परिवारलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम र आवश्यक उपकरण प्रदान गरिने तयारी भइरहेको बताउनुभयो।
प्रवक्ता लेखीले पत्रकारहरूको दुर्घटना बीमालाई जीवन बीमामा रुपान्तरण गर्न आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, ज्येष्ठ पत्रकारहरूको सम्मान कार्यक्रम चाँडै आयोजना गरिने जानकारी पनि दिनुभयो।