
श्रीकान्त यादव,
वैशाख १४, रौतहट । सशस्त्र प्रहरी बल ११ नं. गण, हेडक्वाटर हजमिनियाँले आफ्नो १८औं स्थापना दिवस विभिन्न कार्यक्रमहरुका साथ भव्य रुपमा सम्पन्न गरेको छ।
आइतबार आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित छिन्नमस्ता बाहिनी वर्दीवास, महोत्तरीका निमित्त बाहिनीपति एसएसपी सूर्यसेन ओलीले उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मन, वचन र कर्मबाट दायित्वबोध गर्दै पूर्ण इमान्दारीका साथ कर्तव्य पालन गर्न सशस्त्र प्रहरीहरुलाई निर्देशन दिएका थिए।
उनले सीमा नाका सुरक्षादेखि राजस्व चुहावट नियन्त्रण, पिलरहरुको संरक्षण तथा सीमावर्ती क्षेत्रमा हुने अवाञ्छित गतिविधिहरु नियन्त्रण गर्न सशस्त्र प्रहरीको भूमिकालाई अत्यन्तै महत्वपूर्ण बताउँदै, उच्च सतर्कता र इमान्दारीताका साथ कार्य सम्पादन गर्न जोड दिए।
कार्यक्रममा राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी प्रसाद यादवले सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गर्दै भने, “सीमानाकाहरु सुरक्षित हुनु र विगतमा भारतीय अपराधीहरुले गरेका अपराधिक क्रियाकलापमा रोक लाग्नु सशस्त्र प्रहरी बलको निरन्तर प्रयासकै परिणाम हो।”
त्यस्तै, सशस्त्र प्रहरी बल ११ नं. गणका गणपति तथा एसपी सन्तोषकुमार बस्नेतले आफ्नो कार्यकालभित्र अवैध हतियारसहित अपराधी पक्राउ, चोरी र राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिए। साथै, अवैध हुण्डी कारोबारमा संलग्नहरुलाई समेत नोटसहित पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको उल्लेख गर्दै, नागरिकस्तरबाट अझ सक्रिय सहयोगको अपेक्षा व्यक्त गरे।
उक्त कार्यक्रममा प्रदेश सांसद नागेन्द्र साह, सुरक्षा निकायका प्रमुखहरु, सर्लाही, पर्सा र बारा जिल्लाका सशस्त्र प्रहरी बलका एसपीहरु, सशस्त्र प्रहरी बल प्रशिक्षालय पथलैयाका एसपी संजय मण्डल, विभिन्न गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु, पूर्व सशस्त्र प्रहरीहरु तथा सशस्त्र प्रहरी परिवारको उल्लेख्य उपस्थिति रहेको थियो।