
२०८१ साल साउन ७ गतेको कुरा हो। म एउटा एनजीओमा काम गर्दै थिएँ। काठमाडौं जानु अति आवश्यक थियो, किनभने मेरो परीक्षा थियो। समयमा पुग्नुपर्ने बाध्यता थियो। अफिसले लामो बिदा दिइरहेको थिएन, कामको चाप पनि धेरै थियो। अर्कोतर्फ, केही दिनअघि मात्र भएको सिमलटार बस दुर्घटनाको घटना ताजै थियो। त्यसले गर्दा परिवारले रात्री बसमा यात्रा नगर्न सल्लाह दिएको थियो।
तर परीक्षा छुटाउन सकिँदैनथ्यो। त्यसैले बुद्ध एयरको अन्तिम टिकट कटाउन लगाएँ। म गौरबाट हतार-हतार सिमरा पुगेँ। त्यहाँ पुग्दा ३:५० बजेको थियो। जहाज ढिलो हुने जानकारी दिए। प्रतिक्षा लम्बिदै गयो। साँझको ६ बज्दा प्लेन नउड्ने सूचना आयो। यात्रुहरू आक्रोशित भए। कोही टिकट सार्दै थिए, तर म अझै अनिश्चिततामा थिएँ। टिकट क्यान्सल गरेर श्रीमानलाई फोन गरेँ। उहाँले भोलि आउन भन्नुभयो, तर मैले मानेँ।
श्रीमानले भाइलाई सम्पर्क गरेर बिरगंजबाट रात्री बसको व्यवस्था गरिदिनुभयो। टिकट भए पनि मनमा अनेक प्रश्नले हलचल मच्चाउन थाल्यो। खासमा मलाई परिवारका धेरै सदस्यले रात्री बसमा यात्रा नगर्न सुझाएका थिए। तर परीक्षाको बाध्यताले जोखिम लिनुपर्ने भयो।
भाइको सहयोग र मनको द्वन्द्व
भाइले मलाई बिरगंजको होटेलमा ल्याए। खानाको लागि आग्रह गरे पनि त्रासले केहि खान मन लागेन। एउटा रोटी र थोरै तरकारी खाएर बसेँ। मनमा निरन्तर प्रश्नहरू उठिरहेका थिए। “कसैले के भने भने गाडी दुर्घटना भयो भने मेरो परिवारको अवस्था कस्तो होला?” यी नकारात्मक सोचहरूले मलाई सताइरह्यो। तर, आफूलाई सम्हाल्दै “भाग्यमा जे लेखेको छ, त्यही हुनेछ” भन्ने सोचेँ।
भाइले होटेलको गाडीबाट सिमरा चौकसम्म पुर्याइदिए। गाडीमा चढेपछि सबै परिवारका सदस्यसँग फोनमा कुरा गरें। सबैले गाडीमा ननिदाउन सुझाव दिए।
रात्री बस यात्रा
रातको १० बज्न लागेको थियो। सोचेँ, “तराईको समतल बाटो हुँदै गर्दा अलि सुतेर जागा हुन्छु।” तर निन्द्रा लामो टिकेन। २०–२५ मिनेटमै ब्युँझिएँ। गाडी हेटौंडा कटिसकेको रहेछ।
रामनगरमा खाना खानका लागि गाडी रोकियो। केही यात्रुहरूले ओर्लेर खाना खाए, केहीले गाडीमै खाए। मेरो छेउमा बसेकी वृद्ध महिलाको शरीरबाट आएको गन्धले असहज महसुस भयो। मन अशान्त भइरह्यो।
गाडी अगाडि बढ्दै थियो। झ्यालबाट बाहिर हेर्दा साउनको बादलले ढाकेको कालो आकाश, त्रिशूली नदीको गर्जन र उजाड पाखाहरू देख्दा मन झनै डरले भरियो। सिमलटार दुर्घटनाका दृश्यहरूले फेरि मनमा डर पैदा गर्यो।
डर र प्रार्थना
मनमा नकारात्मक सोचहरू घुमिरहे। “मलाई केही भयो भने मेरो बच्चा कसले हेर्छ? श्रीमान्ले अर्को विवाह गरे भने बच्चाहरूको के होला?” यी सोचहरूले सताइरह्यो। मन सम्हाल्न म हनुमान चालिसा पढ्न थालेँ।
अन्ततः थकाइले गर्दा निदाएँ। आँखा खुल्दा गाडी थानकोट पुगिसकेको रहेछ। मन हल्का भयो। “हे भगवान, तपाईको कृपा छ,” भन्दै धन्यवाद दिएँ।
लेखनको उद्देश्य
पाँच महिना पछि यो लेख लेख्नुको कारण मेरो मनको तनावलाई कम गर्नु हो। ती दिनका घटना सम्झँदा आज पनि मन अस्थिर हुन्छ। मैले त्यो त्रासदी प्रत्यक्ष भोगेकी छैन, तर मिडियामा देखिएका दृश्यहरूले पनि मनलाई धेरै असर गरेको छ।
लेखन तनाव व्यवस्थापनको एउटा माध्यम हो। त्यसैले यो अनुभव यहाँ प्रस्तुत गरेकी छु। यो मेरो वास्तविक अनुभव हो। हजुरहरूको प्रतिक्रिया पाउँदा खुसी लाग्नेछ।
— लेखककाे अनुरोधमा नाम गाेप्य राखिएको छ ।