
सचतक नेपाल डेस्क,
०२, माघ,राैतहट । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नाराका साथ आज २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ। वि.सं. १९९० माघ २ गतेको विनाशकारी भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ मा यो दिवस मनाउने प्रचलन सुरु गरिएको हो।
सुदृढ संरचना र पूर्वतयारीको महत्व
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहनका लागि बलियो संरचना निर्माण र सुदृढ पूर्वतयारी अपरिहार्य रहेको बताए। उनले भूकम्पको जोखिम न्यूनीकरण र सुरक्षित संरचना निर्माणका लागि चेतना अभिवृद्धिको आवश्यकता रहेको उल्लेख गरे।
१९९० सालको विनाशकारी भूकम्पको प्रभाव
वि.सं. १९९० सालको माघ २ गते २:२४ बजे गएको शक्तिशाली भूकम्पले नेपाल र भारतमा ठूलो क्षति पुर्याएको थियो। नेपालमा मात्रै ८,५१९ जनाले ज्यान गुमाए भने भारतको बिहारमा ७,००० भन्दा बढीको मृत्यु भएको थियो। उक्त भूकम्पले ८० हजार घर र २ लाख ७ हजारभन्दा बढी संरचनामा क्षति पुर्याएको थियो।
दिवसको उद्देश्य
भूकम्प सुरक्षा दिवसको उद्देश्य भूकम्पबाट बच्न जनचेतना अभिवृद्धि गर्नु, विगतका प्रयासहरूको मूल्याङ्कन गर्दै कमीकमजोरी सुधार गर्नु, र भविष्यका लागि प्रभावकारी रणनीति निर्माण गर्नु रहेको छ।
यस दिवसले भूकम्प जस्तो प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जनस्तरमा नयाँ उर्जा र जागरण ल्याउने विश्वास गरिएको छ।