
सचतक नेपाल डेस्क,
१ माघ, सर्लाही। सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरमा भारतीय १५ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाइएको घटनामा प्रहरी टोलीले बालकको सकुशल उद्धार गरेको छ। घटनाबारे प्रहरीलाई सूचना प्राप्त भएपछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो।

प्रहरीका अनुसार, उद्धार गरिएको बालकलाई परिवारको जिम्मा लगाइएको छ। यस घटनामा संलग्न तीन जना अभियुक्तलाई पक्राउ गरिएको छ। पक्राउ परेकामा ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान र २७ वर्षीय प्रवचन साह रहेका छन्।

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली २ राउन्ड, धारिलो चक्कु १ थान, हथौडा १ थान, मोबाइल १ थान र BR06BT2850 नम्बरको मोटरसाइकल बरामद गरेको जानकारी दिएको छ।

पक्राउ परेका अभियुक्तहरूलाई अपहरण, शरीर बन्धक र हातहतियार खरखजाना सम्बन्धी आरोपमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यस घटनामा आपराधिक गिरोहको संलग्नता हुन सक्ने आशंका गरिएको छ र अनुसन्धानलाई थप गहन बनाइएको छ।

घटनामा सम्लग्न अपराधीहरूको पहिचान र कानूनी कारवाहीका लागि प्रहरी सक्रिय छ।