
सचतक नेपाल डेस्क,
२९ पुस, राैतहट ।
नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै दुई देशका सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ को समापन भएको छ।
यसपटकको अभ्यास नेपाली सेनाको ब्याटल स्कुलमा सम्पन्न भएको थियो। नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन भएको यो अभ्यासले विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला तथा मानवीय सहयोगजस्ता महत्त्वपूर्ण विषयहरूमा दुवै पक्षले सैद्धान्तिक र व्यवहारिक ज्ञान आदानप्रदान गरेका छन्।
नेपाली सेनाका प्रवक्ताका अनुसार यो अभ्यासले दुई देशका सेनाबीचको आपसी समझदारी, सहकार्य, र मैत्री सम्बन्धलाई अझ मजबुत बनाएको छ। यस्ता सैन्य अभ्यासले क्षेत्रीय स्थायित्व र आपसी सहकार्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
सैनिक अधिकारीका अनुसार यो अभ्यास प्रत्येक वर्ष नेपाल र भारतमा पालैपालो आयोजना गरिँदै आएको छ। अगामी अभ्यास भारतमा आयोजना गरिनेछ।

