Wednesday, January 15
Shadow

पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज देशभर मनाइँदै


२७ पुस, काठमाडौँ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरु गरेका थिए।

पृथ्वीनारायण शाह राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सुपुत्र थिए। विसं १७९९ मा गोरखाको राजा भएका उनले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरे। उनको निधनपछि उत्तराधिकारीहरूले राज्यलाई किल्ला काँगडासम्म बिस्तार गरेका थिए।

उनले विसं १८०१ मा नुवाकोट विजय गरेपछि नेपाल एकीकरणको यात्रा सुरु भयो। त्यसपछि २५ वर्षभित्र उनले १८२६ मा काठमाडौँ उपत्यका विजय गर्दै पूर्वतिर चौदण्डी र विजयपुरसम्मको भूभाग आफ्नो अधीनमा लिए।

नेपाललाई एकीकृत बनाउन सबै जातजाति र भाषाभाषीको साथ लिएर अघि बढेका पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्न सिंहदरबारको पश्चिम मूल ढोकाअगाडि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रमको आयोजना गरिने जनाइएको छ।

प्रत्येक वर्ष पुस २७ गते विशेष कार्यक्रम गरी उनलाई श्रद्धाञ्जलि अर्पण गरिँदै आएको छ। यस वर्ष पनि देशभरका स्थानीय तह र संघीय स्तरमा विविध कार्यक्रमहरू आयोजना गरेर पृथ्वीनारायण शाहको योगदानलाई सम्झन थालिएको छ।

सचतक नेपाल डेस्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *