Wednesday, January 15
Shadow

समाजवादी मोर्चा सक्रिय बनाउने माओवादी र एकीकृत समाजवादीको रणनीति

२६ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाका गतिविधि सक्रिय बनाउन सहमति गरेका छन्। बिहीबार सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा भएको बैठकले मोर्चाका गतिविधि तीव्र पार्ने निर्णय गरेको हो।

बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष डा. बेदुराम भुसालले मोर्चाका संयोजक नेत्रविक्रम चन्दसँग परामर्श गरी छिट्टै बैठक बोलाउने जानकारी दिए। उनका अनुसार, मोर्चाले सरकारबाहिर रहेका दलहरूको साझा आवाजलाई बलियो बनाउन र सरकारका त्रुटिहरूविरुद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले एकवर्षे अभियान सञ्चालन गर्ने योजना सुनाउँदै समाजवादी क्रान्तिको आधार तयार गर्न मोर्चाको भूमिकालाई महत्त्वपूर्ण बताए। उनका अनुसार, समाजवादी मोर्चाको सक्रियता देशको समग्र परिवर्तनका लागि प्रभावकारी बन्नेछ।

बैठकमा नेताहरूले वर्तमान कांग्रेस-एमाले गठबन्धनको समीक्षा गर्दै सरकारको काममा गति नआएको टिप्पणी गरे। माओवादी र समाजवादी नेताहरूले बाहिरबाट सहज देखिए पनि गठबन्धनभित्र असमझदारी रहेको औंल्याए।

मोर्चाले आगामी दिनमा समाजवादी विचारधारामा विश्वास गर्ने अन्य दलहरूलाई पनि समेट्ने योजना बनाएको छ। यसले सरकारबाहिर रहेका दलहरूको साझा मोर्चाका रूपमा आफ्नो भूमिकालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *