
सचतक नेपाल न्युज,
राैतहट – दिपावली एवम् छठ् पर्वलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राैतहट आउने भएका छन् । शनिबार देवाही गाेनाही नगरपालिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन, उनी राैतहट आउने भएका छन्।
संगठन बिस्तार अभियान अन्तर्गत जसपा राैतहट जिल्ला कार्य समितिले आयाेजना गरेकाे शुभकामना आदानप्रदान, बहुत पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन् अध्यक्ष उपेन्द्र यादव यादव आउने जिल्ला अध्यक्ष श्यामबिहारी यादवले सचतक नेपाललाई जनाएका छन् । कार्यसमितिद्वारा आयाेजित कार्यक्रम कार्तिक १८ गते ११ बजे सुरु हुने जिल्ला अध्यक्ष यादवले जनाएका छन्।
काे हुन उपेन्द्र यादव?
उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष हुन्। उनी पहिले मधेस समर्थक दल मधेसी जनअधिकार फोरमका संयोजक थिए। शीर्ष मधेसी नेता यादवको जन्म वि.सं. २०१६ सालमा सप्तरी जिल्लाको भागवतपुरमा भएको हो। उनी धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा छोरा हुन्। उनको दाजु डम्बर यादव खेती-किसानीमा संलग्न थिए। उनको बाल्यकाल सप्तरी जिल्लाको मधुवनमा बित्यो।
अहिले त्यो ठाउँ सुनसरी जिल्लामा पर्छ। मधुवनको मोहन नि.मा.वि.मा उनले प्रारम्भिक शिक्षा प्राप्त गरे। त्यसपछि जनता मा.वि. मधुवन र वनदहवाकट्टी हाइस्कूल सप्तरीमा माध्यमिक शिक्षा लिए। वि.सं. २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि यादव धरानको हात्तीसार क्याम्पस भर्ना भए। त्यहाँबाट आईएस्सी गरेपछि उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक तह र स्नातकोत्तर गरेका हुन्।
राजनीतिक पाइला..
लोकप्रिय नेता यादवको राजनीतिक पाइला चाहिँ वि.सं. २०३२ सालतिरै अघि बढेको हो। त्यतिबेला झापा आन्दोलनको उभारले ढपक्कै छोपेको थियो। त्यतिबेला उनी पुष्पलाल समूहको अनेरास्ववियुमा संलग्न भए। त्यसरी उत्प्रेरित गर्न तत्त्व चाहिँ गरीब र विपन्न वर्गलाई उठाउनु पर्छ भन्ने चेतना थियो। वि.सं. २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट कम्युनिस्ट पार्टीको चौवन्नी सदस्यता लिए। त्यसपछि पनि उनले विद्यार्थी राजनीति छाडेनन्। त्यतिबेला अखिल प्रतिबन्धित थियो। उनले भूमिगतरूपमा काम गरे। विद्यार्थी राजनीति हुँदै यादव जनमत सँग्रहमा सक्रिय भए। तर, जनमतसँग्रहसँगै अखिल विभाजित भयो। उनी प्रगतिशील विद्यार्थी युनियन को दुई कार्यकाल उपाध्यक्ष भए।
वि.सं. २०४६ सालमा उनी नेपाली कांग्रेसको आह्वानमा भएको सत्याग्रहमा सामेल भए्। उनलाई काठमाडौंमा गिरफ्तार गरियो। उनले केन्द्रीय कारागारमा एक वर्ष बिताए। त्यतिबेला उनीसँग प्रदीप गिरी, दमननाथ ढुङ्गाना, मार्सलजुलुम शाक्य, गोपालप्रसाद भट्टर्राई लगायत काङ्ग्रेसी नेताहरू थिए। पछि पुष्पलाल समूहको अध्यक्ष साहना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा (मार्क्सवादी) बन्यो। उनले कोशी अञ्चल कमिटीमा रहेर काम गरे। त्यसको इन्चार्ज भरतमोहन अधिकारी थिए। वि.सं. २०४६ सालको आन्दोलनमा यादव विराटनगरमा गिरफ्तार भए। उनलाई धनकुटा लगियो। प्रजातन्त्र पुनर्स्थापना भएपछि उनी छुटे। लगत्तै नेकपा माले र मार्क्सवादीबीच एकता भयो र एमाले बन्यो। वि.सं. २०४८ सालमा यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)ले सुनसरी-४बाट उम्मेदवार बनायो। उनले जित्न सकेनन्। त्यसपछि उनलाई पार्टीले सुनसरी र मोरङको जिम्मेवारी सुम्पियो।
‘मधेश’ प्रेमी नेता यादव..
वि.सं. २०५६ सालमा उनले पार्टीभित्र मधेसको कुरा उठाए। पार्टीले उल्टै साम्प्रदायिक व्यक्ति भनी आरोप लगाएपछि उनले पार्टीबाट राजीनामा दिए। अनि उनी २०५४ सालमा नै गठन भएको मधेसी जनअधिकार फोरममा क्रियाशील भए। वि.सं.२०५९ असोज १८ मा राजा ज्ञानेन्द्रले शासन सत्ता लिएपछि फोरममाथि हमला भयो। यादवलगायतका नेता कार्यकर्ताले भूमिगत र अर्धूमिगत भएर काम गरे। त्यसबीचमा उनले नेकपा माओवादीसित पनि सहकार्य गरे। तर, उनले माओवादीको सदस्यता लिएको थिएनन्। वि.सं. २०६१ सालमा राजाको प्रत्यक्ष शासन कायमै थियो। उनीलगायत मातृका यादव र सुरेश आले दिल्लीमा पक्राउ परे। अनुसन्धानका लागि यादवलाई कन्सन्ट्रेसन क्याम्पमा डेढ महिना राखियो र छाडियो।
जनआन्दोलन-२ का बेला यादव सारा शक्ति लगाएर होमिए। नेपालको इतिहासमा पहिलोपटक मधेसी ब्यानरमा आन्दोलन भएको थियो। तर, जनआन्दोलनको भावना र मर्मानुसार सात दलको सरकारले मधेसी, दलित एवं जनजातिको भावनाको कदर नगरेपछि उनले मधेस आन्दोलन उठाए।
वि.सं. २०६३ माघ १ गते अन्तरिम संविधान बन्यो ।त्यसको भोलिपल्ट काठमाडौंको माइतीघर मण्डलामा नेता यादवको नेतृत्वमा अन्तरिम संविधान जलाईयो ।सरकारले उनलाई गिरफ्तार गर्यो। हनुमानढोकामा लगेर थुन्यो। लोकतन्त्रमा समेत उनलाई देशद्रोहको मुद्दा चलाउन खोजियो। मधेस आन्दोलन तीव्र भएकाले र्सार्वजनिक अपराधको मुद्दा लगाउने प्रयत्न भयो। तर, मधेस आन्दोलन झन प्रचण्ड भएपछि त्यत्तिकै सेलायो।
मधेस आन्दोलनकै आलोकमा उपेन्द्र यादव नेताका रूपमा स्थापित भए। मधेस आन्दोलनले नै मधेसी जनअधिकार फोरम मजबुत बन्यो। पछि निर्वाचन आयोगमा दर्ता भएपछि राजनीतिक शक्तिका रूपमा उदायो। संविधानसभा निर्वाचनसम्म फोरम दलका रूपमा दर्ता भयो। अनि निर्वाचनमा मधेसी-पहाडी सबैको पार्टी बन्र सफल भयो। अहिले संविधानसभामा चौथो ठूलो पार्टीका रूपमा ५२ स्थान हासिल गरेको छ।