काठ्माण्डौ – देशले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित हुनुभएको हो । ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिनुभएको हो ।
कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गर्नुभएको थियो । एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाउनुभयो । उहाँलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिनुभएको हो ।
आज भएको निर्वाचनमा संघीय सांसदतर्फबाट १९ जना र प्रदेशसभातर्फबाट ३२ जना अनुपस्थित हुनुभएको थियो । राष्ट्रपति निर्वाचनमा कुल ८८२ मतदाता छन् । तर, मतदानमा भने ८३१ मत खसेको थियो । निर्वाचन आयोगका अनुसार संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।
प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्य छन् । यसमध्ये बिरामीद्वय कांग्रेसका डा. चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन र मुद्दा विचाराधीन अवस्थामा रहेकाले एमालेका लक्ष्मी महतो कोइरीको अनुपस्थित रहनुभयो भने सांसद सहनाज रहमानको मृत्यु भइसकेको छ ।
यसैगरी राप्रपा १४ जना सांसदहरु राजेन्द्र लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशाले राष्ट्रपति निर्वाचनलाई बहिस्कार गर्नुभयो ।
उहाँहरुले पार्टीको निर्णयअनुसार बहिस्कार गर्नुभएको हो । राष्ट्रपति चयन प्रक्रियामा नेपाल मजदुर किसान पार्टीका एकल सांसद प्रेम सुवाल तटस्थ रहनुभयो । प्रदेशसभातर्फ राप्रपाका २८, नेमकिपाका ३ र जसपाका १ जना सांसद राष्ट्रपति निर्वाचनमा अनुपस्थित रहनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1