
काठमाडौं – उमेर ढाँटेर नेपाल प्रहरीमा जागिर खाएको विषय प्रमाणसहित सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबिनका लागि केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) को शैक्षिक प्रमाणपत्र र नागरिकता विवरण मागेको छ। अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै केही डीआईजीको शङ्कास्पद शैक्षिक प्रमाण पत्र र नागरिकता विवरणको जानकारी माग गरेको हो ।
नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले राजीनामा दिएपछि अन्य केही डीआईजीका समेत नागरिकता सच्चाइएको विवरण सार्वजनिक भएका थिए।
नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवालीको नागरिकतामा उमेर सच्याएको विवरणसहितको उजुरी शनिबार मात्रै अख्तियारमा परेको छ। अख्तियारले सोमबार प्रहरी मुख्यालयसँग ज्ञवालीको नागरिकताको विवरण पठाउन पत्राचार गर्ने भएको स्रोतले जनायो। प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ज्ञवालीले दाजु ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक भएका बेला नागरिकताको कपी नै गायब गरेको उच्च स्रोत बताउँछ। अर्का डीआईजी एवं कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालको नागरिकताबारे पनि अख्तियारमा उजुरी परेको थियो। तर, ढकालको नागरिकतामा उल्लेख भएको विवरण जिल्ला प्रशासन कार्यालयबाटै गल्ती लेखिएको देखिएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले सच्चाएको देखिन्छ।

डीआईजी ज्ञवालीको नागरिकतामा जन्ममिति २०२४ चैत्र २१ गते रहेकाले उनको डीआईजी बढुवा नै बदर हुने देखिन्छ । नेपाल प्रहरीको सिटरोलमा ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ गते छ । ज्ञवालीले उमेर ढाँटेर जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेपछि यसको विस्तृत छानबिनका लागि प्रहरी मुख्यालयसँग जवाफ मागिने अख्तियार स्रोत बताउँछ। ज्ञवाली विरुद्ध परेको उजुरीमा सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागिर खाइरहेको उल्लेख छ। उनले प्रहरी निरीक्षक पदमा योग्य हुन २० वर्ष पूरा भएको र २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था भए पनि नागरिकता अनुसार २५ वर्ष पूरा भइसके पनि आवेदन दिएर प्रहरी सेवामा प्रवेश गरेको उजुरीमा उल्लेख छ।
अख्तियारले सुरक्षा निकायहरू प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको अभिलेख पठाउन प्रहरी, सशस्त्र र विभागको मुख्यालयमा पत्राचार गरिसकेको जानकारी अख्तियार प्रमुख प्रेम कुमार राईले दिए। उनले भने,‘नागरिकतामा उमेर ढाँटेको र शैक्षिक प्रमाणपत्र नक्कलीबारे जोडिएका प्रहरी अधिकृतको मात्रै होइन, उच्च पदमा बसेका सुरक्षा निकाय प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको अभिलेख पठाउन सम्बन्धित कार्यालयमा पत्राचार भई सक्यो। विस्तृत छानबिन गर्छौँ।’ उनले ज्ञवालीको हकमा शनिबार मात्रै उजुरी परेकाले आइतबार प्रहरी मुख्यालयलाई पत्र पठाएर अभिलख पठाउन पत्राचार गरिने बताए। अख्तियार प्रमुख राईले भने,‘ सक्कली विवरण लुकाएर सार्वजनिक पदमा कसैले पनि जागिर खान पाउँदैन। आयोगले छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउँछ।’
याे खबर राताेपाटीले प्रकाशन गरेको छ।