
प्रेम यादव,
रौतहट । गाँजा नेपालमा प्रतिबन्धित लागुऔषध हो । सिमावर्ती जिल्ला रौतहटमा लागुऔषध गाँजाको तस्करी बढ्दै गएको छ ।
आइतबार प्रहरीले गोप्य सुचनाको आधारमा ९१ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले रौतहटको राजपुर नगरपालिका–१ पिपरा भगवानपुर स्थित पिपरा टोलबाट १३ पोकाेमा राखिएको ९१ किलो गाँजा एउटा बोलेरोबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादवले प्रेश विज्ञप्ति मार्फत जानकारी गराउनु भयो ।
सुचनाको आधारमा प्रहरीले आज करिब ११ बजेको समयमा जेएच १० एक्स ४२१२ नम्बरको सेतो बोलेरोलाई खानतलासी गर्दा गाँजा फेला पारेको छ । त्यस्तै सोही स्थानबाट अन्दाजी १० मिटर दक्षिण तर्फ बेवारिसे अवस्थामा रहेको बिआर ३० यू ०४७४ नम्बरको मोटरसाइकल समेत प्रहरीले फेला पारेको छ ।
फेला परेको लागुऔषध, गाँजा लोड रहेको बलोरो र मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रौतहट ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बिगत केही महिनादेखि रौतहटमा गाँजाको व्यापक तस्करी बढेको छ । यसअघि पनि रौतहट प्रहरीले २०४ किलो गाँजा बरामद गरेको थियो । पटकपटक ठुलो मात्रमा गाँजा बरामद भएपनि हालसम्मपनि प्रहरीले गाँजाको कारोबार गर्ने माफियाहरुलाई नियन्त्रण लिन सकेको छैन । ठुलो मात्रामा फेला परेका लागुऔषधहरु जिवित प्रमाण छन् कि रौतहटमा गाँजा लगायत अन्य लागुऔषधकाे व्यापक तस्करी हुन्छ ।
हालसम्म लागुऔषध कारोबारी माफियाहरु पक्राउ पर्न नसक्नुले पनि प्रहरीमाथि प्रश्न उठाउँछ । कतै प्रहरीकै मिलोमतोमा त लागुऔषधको कारोबार भइरहेको होइन ? बारमबार गाडी पक्राउ पर्दा चालक फरार किन ? कसरी ? प्रश्न थुप्रै छ । जिल्ला प्रहरी कार्यालय रौतहट यस विषयबारे गम्भीर हुनुपर्ने आवश्यकता देखिन्छ । सिमावर्ती जिल्ला भएको कारण पनि रौतहटमा सुरक्षा कडा व्यवस्था हुनुपर्ने आवश्यकता देखिन्छ ।