किरण धामी
१ भदाै, डोटी । आज भदौ १ गते डोटी सहित सुदूरपश्चिम भरि ओल्के सङ्क्रान्ति मनाइँदै छ । “बिसुँ खानु मरुँलो भनी, ओल्के खानु बाँचुलो भनी” भन्ने कथनका साथ मनाइने ओल्के पर्व अजा हर्षोल्लासका साथ मनाइँदै छ । आजको दिनलाई बर्खा यामको प्रकोप र महामारीबाट बचेर नयाँ जीवनको प्राप्ति भएको खुसीयालीमा ओल्के पर्व मनाइँदै आएको जनविश्वास रहेको छ ।
डोटेली भाषामा ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आज बिहानै नुहाई धुवाई गरी विभिन्न परिकार बनाएर सागपात, फलफूल, अन्न, दूध, दही, घिउ, गुड र पकवान आदि मान्यजन र आफन्तकहाँ लगेर भेटघाट गर्न जाने चलन छ । विभिन्न मन्दिरमा नयाँ अन्नबाली ओल्केका रूपमा देवतालाई समेत चढाउने गरिन्छ ।
ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूख बिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । यसरी बनाइएको थुप्रोलाई असोज सङ्क्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन् । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास पनि कतिपय समुदायको छ ।
आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।
यो पर्व यस भेगका बासिन्दाको मौलिक पर्व पनि हो । यसलाई सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ । यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर पनि मनाइन्छ ।
ओल्के सङ्क्रान्तिताका सतरती (सात रातको झरी) पर्दछ । यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भैँसीका सिङ ओभानो भएमा अनिकाल पर्ने सम्भावना र ऋतुमति धर्तीले नवीन सिर्जना गर्न थाल्ने विश्वास रहिआएको छ । प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्रा देखिनुका साथै धुलो धुवाँ र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्ने पनि विश्वास रहेको छ ।
ओल्के पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1