धर्मेन्द्र कुमार साह
३० श्रवान , राैतहट । राजदेवी नगरपालिका रौतहट जिल्लाको सदरमुकाम गौर संग सिमाना जोडिएको नगरपालिका हो ।
गौर भन्दा करिब ५ किलो मिटर पुर्व उतरमा रहेको हालको राजदेवी नगरपालिकाको साविकको कटरवन जसलाई करवाना पनि भनिन्छ,ले आफ्नै ईतिहास बोकेको छ । कुनै बेला हालको रौतहटको मुख्य प्रशासनिक केन्द्र कटरवनमा रहेको कुरा नया पुस्ताको लागि अनौठो लाग्न सक्छ तर करिब ९ दसक पुर्व रौतहटको मुख्य प्रसाशनिक केन्द्र हालको राजदेवी नगरपालिकाबाटै संचालनमा रहेको थियो ।
विक्रम संवत २०१८ साल पुर्व रौतहट ,बारा र पर्साको एउटै प्रशासनिक केन्द्र रहेको बखत रौतहटको प्रसाशनिक केन्द्र तत्कालिन गाउ पंचायत कटरवनबनबाट संचालन हुदै आएको थियो । त्यो बेला बारा पर्सा र रौतहटको मुख्य प्रशासनिक कार्य बिरगंज गौडाबाट संचालन गरिन्थ्यो l तत्कालिन समयमा गौडाका मुख्य कर्मचारीलाई बडाहाकिम ( बडहाकिम) भन्ने गरिन्थ्यो ।
बिक्रम संवत १९९० माघ २ गते आएको विनाशकारी भुकम्प र तत् पश्चात बागमती नदीको कटानीबाट प्रभावित भएपछी बिक्रम संवत १९९२ मा कटरवनमा रहेको प्रशासनिक केन्द्र हालको सदरमुकाम गौर स्थान्तरण गरिएको थियो ।
स्थानीय बिहारी साह तेली भन्नु हुन्छ ” राजदेवी मन्दिरको लागि रहेको करिब १२ बिघा टुडिखेतमा तत्कालिन कार्यालयहरु स्थापित रहेको थियो । तत्कालिन श्री ३ सरकारको प्रत्येक बर्ष भ्रमण हुने गरेको थियो l पछि बागमती नदीले कटान सुरु गर्न थाले पछि सबै कार्यालयहरु गौर सारियो । ” तत्कालिन रुपमा प्रशासनिक कार्यालयहरु रहेको ठाउलाई कचहरी भन्ने गरिन्थ्यो । कचहरी भनेको सबै सरकारी कार्यालय ( जसलाई अड्डा पनि भनिन्छ ) को एकीकृत रुपलाई जनाउँछ । तत्कालिन समयमा जेल, अस्पताल,अमिनी (हालको नापी ) मालपोत ,बडहाकिम लगायतका कार्यालयहरु एकै ठाउमा रहेको थियो जसलाई कचहरी भन्ने गरिन्थ्यो ।
केहि बर्ष पहिला सम्म जिल्ला अदालत गौरको स्टाम्प्मा पनि कटरवाननै लेखिदि आएको थियो । बिहारी साह तेली ७७ बर्षका हुन् । उनले राजदेवी मन्दिरको पुरानो संरचना भत्केको आफुलाई याद रहेको बताउदै सो मन्दिरमा प्रजातन्त्र आउनु पुर्व सर्वसाधारणलाई पुजा गर्ने छुट नरहेको आफुले सुनेको बताउछन । उनले उक्त मन्दिरमा तत्कालिन राणाहरु र कचहरिका कर्मचारीहरुलाई पुजा गर्ने अधिकार मात्रै रहेको आफुले सुनेको तर आफुमा चेतना आउदा सम्म सो मन्दिर सबैको लागि भैसकेको बताउछन ।
अर्को रोचक तथ्य के छ भन्ने तत्कालिन समयमा संचालित ति अड्डाहरुमा दोभाषेको रुपमा भारतीय नागरिकहरुलाई राखिएको थियो । अड्डामा काम गर्ने कर्मचारीहरुले स्थानिय भाषा बोल्न नजान्ने र स्थानीयले नेपालि बोल्न नजान्ने अवस्थामा भारतीय नागरिकलाई दोभाषेको रुपमा राख्ने गरिन्थ्यो । यसले पनि सदियौ देखि हिन्दि भाषानेपालको सम्पर्क भाषा रहदै आएको पुष्टि हुन्छ । तत्कालिन समयमा रौतहटमा नेपालि पैसाको प्रचलन थिएन । कारोवार भारुमा गरिन्थ्यो l करिब ३ दशक पुर्व सम्म पनि आर्थिक लेनदेनका लिखत कागजातमा भारु भन्ने शब्द लेखिन्थ्यो l ति लेखतहरु लेख्न सरकारै तवरबाटै भारतीयहरुलाई न्युक्ति दिइएको थियो ।
स्थानीय नागरिक राम आशिस साह ( भिला साह) अहिले उमेरले ८० बर्ष हुनु भएको छ । उनले आफु महेन्द्र राजा संग भेट गरेको खिसा सुनाउछन । उनलाई साल याद छैन तर दसैँ को नवमीको रातमा तत्कालिन राजा महेन्द्र शाह राजदेवी मन्दिरमा पुजा गर्न आएको बखत वहा संग भेट भएको बताउछन । उनले मन्दिरको पुजारी रात्रिको समयमा मन्दिरमा नरहेकोले उनको सहायकले सरकार संग ५ हजार मोहर रुपैया दाङ पाएको याद रहेको बताउछन । उनको स्मरणमा पुरानो राजदेवी मन्दिर रहेको स्थानमा अहिले बागमतीको धार बगिरहेको बताउछन । उनि नदि तर्फ औला देखाउदै पुरानो कचहरी रहेको ठाउ देखाउछन । तर बागमती नदीको बर्षेनीको कटानिले तत्कालिन कचाहरिको संरचनाको अवशेष भन्ने देखिदैन । उनले कटरवनमा कचहरी रहे सम्म यहाँ पहाडे समुदायको उल्लेख्य उपस्तिथ्ती रहदै आएको तर प्रशासनिक केन्द्र सरेपछि उनीहरुको वास पनि फेरिएको बताउछन ।
राजदेवी मन्दिरमा सरकारी पुजा हुने सोहि परम्परा अनुसार अहिले पनि प्रत्येक दशैमा जिल्ला प्रहरी कार्यालय गौरले बलि सहितको बिशेष पुजा गर्दै आएको हो ।