
सच तक नेपाल ,
१५ श्रावन, प्युठान । मंदिर जादैँ गरेको जीप दुर्घटना भएको घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । घटनास्थलमै एकजना र उपचारको क्रममा दुई जनाको अस्पतालमा ज्यान गएको हो ।
सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाबाट आफन्तजन मिलेर जीप रिजर्भ गरी १७ जना स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु ३ च ३५३ नम्बरको जीप शनिबार स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का ५४ वर्षीया कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय पटवारी कुहारको बुटवलस्थित एडवनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो।
घाइते हुनेहरूमा रुपन्देही मायादेवी – ७ का ४२ वर्षीय विनोद कुहार, सिद्धार्थ – ४ का ४० वर्षीया उर्मिला कुहार, १५ वर्षीय चन्दन कुहार, मायादेवी – ३ का ४० वर्षीया आशा थारु, ३ का ६३ वर्षीय रुदल चौधरी, ५० वर्षीय मागरी थारु, ६१ वर्षीय प्रल्हाद थारु, सिद्धार्थ – ६ का ७० वर्षीय धुब्रनारायण काबी, सिद्धार्थ – ६ का ६० वर्षीया उर्मिला बर्मा छन् ।
यस्तै, मायादेवी – ३ का ५५ वर्षीय किसदी थारु, सिद्धार्थ –६ का ६० वर्षीया पुष्पा माली, ५२ वर्षीय सरोज माली, मायादेवी – ७ का अन्दाजी ७३ वर्षीय कल्वारी कुहार, ७५ वर्षीय प्राग कुहार, ६ वर्षीया बालिका सङ्गीता कुहार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो। घाइतेहरुको अहिले बुटवल र भैरहवास्थित अस्पतालमा उपचार भइरहेको छ ।
ब्रेक फेल भएर जीप दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।