सचतक नेपाल,
३० असार, काठमाडौं । विश्व बैंकले खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा नेपाललाई आठ करोड अमेरिकी डलर (करीब १० अर्ब नेपाली रुपैयाँ) बराबर सहयोग गर्ने भएको छ । सोको लागि बुधवार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा विश्व बैंकका नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि अर्थसचिव मरासिनीले आयोजनाले अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउने र अति जोखिममा परेका समुदायलाई, पानी क्षेत्रको राम्रो समन्वय सुनिश्चितताका लागि मद्दत हुने बताए ।
खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनीतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ । यी दुवै प्रदेशमा खानेपानी आपूर्ति र सरसफाइ सेवाको न्यून पहुँच, गरीबी उच्च हुनुका साथै यी प्रदेशहरू जलवायु परिवर्तनको समेत जोखिममा छन् । विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले यस आयोजनाले नगरपालिकाहरूको क्षमता अभिवृद्धि गरी स्थानीय तहमा खानेपानी र सरसफाइ सेवाको आपूर्तिलाई सुदृढ गर्न मद्दत गर्नुका साथै नेपालको आर्थिक प्रगति र हरित, उत्थानशील तथा समावेशी विकास हासिल गर्नमा खानेपानी र सरसफाइ पूर्वाधारमा रहेको महत्त्वपूर्ण कमीलाई पनि सम्बोधन गर्ने बताए ।
यस आयोजनाले दुई प्रदेशका स्थानीय सरकारलाई खानेपानी र सरसफाइ सेवा दिगो र प्रभावकारी रूपमा उपलब्ध गराउन सक्षम संयन्त्र विकास गर्न मद्दत गर्नेछ । साथै यस आयोजनाले ती क्षेत्रको प्रादेशिक र संघीय सरकारका निकायहरूको अनुगमन र नियामक क्षमताको विकास गरी सेवाग्राहीप्रति यस क्षेत्रको जवाफदेहितालाई पनि बलियो बनाउने बताइएको छ । यी कार्यक्रमका अतिरिक्त यस आयोजनामा खानेपानी आपूर्ति र सरसफाइ पूर्वाधारको निर्माण र पुन:स्थापना गर्नुका साथै पानीको गुणस्तर नियमन गर्ने सुविधा र अनुगमन प्रणालीमा समेत लगानी गरिने विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।