सचतक नेपाल,
३० असार, राैतहट । गहुँ, चिनीलगायत वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको भारतले त्यसबाट नेपाल प्रभावित नहुने प्रस्ट पारेको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनी निर्यातमा लगाएको प्रतिबन्ध नेपालको हकमा लागू नहुने बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधवार आयोजना गरेको स्वागत कार्यक्रममा श्रीवास्तवले निर्यात प्रतिबन्धका विषयमा स्पष्ट पारेका हुन् । भारतले गत जेठमा गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । भारत सरकार आफ्नोसँगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा रहेको भन्दै उनले थपे, ‘नेपालको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ र दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहन्छौं ।’
सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यात प्रतिबन्धले नेपालका उद्योगहरू समस्यामा पर्ने बताए । उनले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाको पूर्वधार विकास, प्रयोगशालाको स्तरीकरण र विस्तार, गैरभन्सार अवरोधका विषयलाई पनि भारतले सम्बोधन गर्नुपर्नेमा जोड दिए । ‘नेपालको भारतसँगको व्यापार घाटा चिन्ताको विषय छ । यसलाई कम गर्न भारतीय सहयोग अपरिहार्य छ,’ गोल्छाले भने, ‘लामो समयदेखि बन्न नसकेको मीरगञ्ज पुल निर्माणमा सघाउनुहोस् ।’
प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनको निर्यातमा हुने गरेको ढिलाइलाई पनि भारत सरकारले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । गैरभन्सार अवरोधका कारण खासगरी कृषिजन्य उत्पादन र जडीबुटी निर्यातमा समस्या छ । तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाह प्रयोग गर्ने सुविधाका लागि पनि महासंघले राजदूतको ध्यानाकर्षण गराएको छ ।
सडक, रेल, हवाई र साथै डिजिटल कनेक्टिभिटीमा देखापरेका समस्या समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन भारत सरकार तयार श्रीवास्तवले जानकारी दिए । ‘ल्याब टेस्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तराष्ट्रिय स्तरको ल्याब स्थापना गरेको छ,’ श्रीवास्तवले भने, ‘काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महीनाभित्रै मान्यता दिने गरी काम भइरहेको छ ।’ अर्को ल्याब उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्रीसमक्ष अनुुरोध गरेको पनि उनले जानकारी दिए ।
सो अवसरमा महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने काम अघि बढाएको जानकारी गराएको छ ।