Sunday, July 21
Shadow

ऋण तिर्ने विषयमा विवाद,  एकको मृत्यु र एक जना घाइते

सच तक नेपाल डेस्क,
२९ असार, राैतहट । घर परिवारभित्र लघुवित्तको ऋण कसले कसरी तिर्ने भन्ने विषयमा विवाद हुँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । गैडहवा गाउँपालिका–१ पश्चिम बगिया बस्ने ३० वर्षीय महेश भरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका भरको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरतन पौडेलले बताए । उनको टाउकोमा ढुंगाले लागेको ठूलो चोट छ । उनकी पत्नी गीता भर घाइते छन् ।

प्रहरीका अनुसार भर परिवारले २ वर्षअघि सूर्यपुरामा रहेको एक लघुवित्तबाट २० हजार रुपैयाँ ऋण लिएको थियो । उक्त ऋणको साँवाब्याज गरी १ लाख रुपैयाँ पुगेको भन्दै रकम बुझाउन ताकेता गर्न कर्मचारी दिउँसो भर परिवारको घरमा गएका थिए ।

साँझ घरपरिवार जम्मा भएपछि रकम बुझाउनेबारे छलफल भएको थियो । मृतक भरले उक्त रकम आफ्ना भाइ उमेश भरलाई बुझाउन भनेका थिए । जो ८ वर्षदेखि वैदेशिक रोजगारीमा बसेर एक महिनाअघि फर्केका थिए । तर, उमेशले आफूले विदेशबाट पठाएको रकम बेलामा नबुझाउँदा यति धेरै भएको भन्दै उनले दाजुलाई गाली गर्न थालेका थिए । दाजुले नमानेपछि हात हालाहाल हुँदै कुटपिट सुरु भएको प्रहरीले बताएको छ । उमेशसँगै बाबुआमा र नन्दहरु पनि कुटपिटमा उत्रेको घाइते गीताको दाबी छ ।

प्रहरीले घटना अनुसन्धानका लागि भन्दै मृतकका बाबु फौदार, आमा चिनिया, भाइ उमेश र बहिनीहरु रश्कला एवं शश्कला भरलाई नियन्त्रणमा लिएको छ । मृतककी पत्नी गीताले बुधबार दिउँसो बाबु फौदार, आमा चिनिया, भाइ उमेशमाथि किटानी जाहेरी दिएकी छन् । घटनामाथि अनुसन्धान थालिएको डीएसपी पौडेलले बताए ।

याे खबर कान्तिपुर समाचारले तयार पारेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *