
सचतक नेपाल,
२५ असार, राैतहट । मेक्सिकोका एक सांसदले भित्री वस्त्र अण्डरवेयर लगाएर संसदमा बोलेका छन् । उनले सभासदहरुलाई सम्बोधन गर्दैै भने, ‘मलाई नाङ्गो देख्दा लाज लाग्यो होला,तर तपाईंका जनता नाङ्गो गोडा र बेरोजगार हुँदा कसैलाई पनि लाज लाग्दैन ।’
जनताको जीवनस्तर झन् पीडादायी र सकसपूर्ण हुन थालेपछि उक्त अवस्थाको प्रतिविम्वको रुपमा सांसदले आफूलाई नाङ्गै उभ्याएका हुन् । नेताले सर्वसाधारणको परिश्रममाथि खेलबाड गरेको, मुलुकलाई धनीको अखडा बनाएको, भ्रष्टाचार र बेथितिले मुलुक जर्जर हुँदै गएपछि उनले आक्रोश व्यक्त गरेका हुन् ।
विश्वको महाशक्ति राष्ट्र अमेरिकासँग सीमा जोडिए पनि मेक्सिकोमा धनी र गरिबबीचको खाडल कहालीलाग्दो छ । विकसित र औद्योगिक मुलुकको हैसियतमा पुगे पनि मेक्सिकोमा गरिब र गरिबीको अवस्था विकराल बन्दै गएको छ । राजनीतिक दलका नेता तथा उच्च सरकारी अधिकारीहरुले माफिया, तस्कर र भ्रष्टहरुसँग साँठगाँठ गरेको आरोप सर्वसाधारणको छ । लागुऔषध र विभिन्न खालका तस्करीमा मेक्सिको विश्वमै चर्चित छ ।
१३ करोड बढी जनसंख्या भएको मेक्सिकोमा झण्डै छ करोड जनसंख्या गरिबीको रेखामुनि बाँच्न विवश छ । त्यसमध्ये एक करोडबढी चरम गरिबीको जीवन बिताइरहेका छन् । जबकि मुलुकको प्रतिव्यक्ति आम्दानी साढे आठ हजार अमेरिकी डलर देखिन्छ । त्यहाँका शहरी गरिबले प्रति महिना एक सय ७० अमेरिकी डलर र ग्रामीण क्षेत्रका गरिबले एक सय १० अमेरिकी डलर औसत कमाउँछन् ।
साभार : छानबिन न्यूज