
सच तक नेपाल डेस्क,
२७ जेठ, रौतहट । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको बेलपुईना भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा ९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष निरौलाका अनुसार ५ जनाको अवस्था गम्भीर छ। चार जनाको अवस्था सामान्य छ। गम्भीर घाइतेलाई थप उपचारका लागि लैजान हेलिकप्टर पठाउने तयारी छ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाणले जिप दुर्घटनामा परेकाहरूलाई हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन गृहमन्त्री खाणले निर्देशन दिएका हुन्।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
जाजरकोटका प्रजिअ शाहीले नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाइने बताए।