Sunday, July 21
Shadow

३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता

सच तक नेपाल डेस्क,
२२ जेठ, रौतहट । काठमाडौंमा भएको एक लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको खुलेको छ।

जेठ ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो।

प्रहरीले यस घटनाबारे औपचारिक रूपमा जानकारी दिएको छैन। घटनामा संलग्न दुई जनालाई भने नियन्त्रणमा लिइसकेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले यस घटनाको अनुसन्धान भइरहेको बताए। ‘हामी अनुसन्धानमै छौं। भोलि (सोमबार) सम्ममा विस्तृत आउँछ,’ उनले भने।

कसरी भयो लुटपाट ?

पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एक व्यक्ति र लुटेरा समूहबीच सुन किनबेच गर्ने डिल भएको थियो। ती व्यक्ति सुन व्यवसायी भने होइनन्। ‘ती व्यक्ति सुन व्यवसायी होइनन्। सस्तोमा किनेर धेरै फाइदा हुन्छ भनेपछि उनी त्यहाँ पुगेका थिए,’ एक प्रहरी अधिकृतले भने।

सस्तोमा सुन पाइने भएपछि ती व्यक्तिले ३५ लाख रुपैयाँ जुटाएको प्रहरीलाई बताएका छन्। लोकेशन पाएपछि प्रहरीले ती व्यक्ति जेठ ८ गते त्यहाँ पुगेका थिए। त्यहाँ पुग्दा उनले सुन पाएनन्। बरू आफूले बोकेको ३५ लाख रुपैयाँ लुटिए।

मानिसलाई सुन/डलर सस्तोमा दिने लोभमा फसाएर लुटपाट गर्ने गिरोहको संलग्न रहेको एक उच्च अधिकारीले बताए।

‘यो सुन-डलरहरू सस्तोमा दिएर लुटपाट गर्ने गिरोह हो,’ उनले भने, ‘नक्कली सुन वा डलर दिन्छु भनेर मान्छे बोलायो। त्यसपछि लुटपाट गरेर भाग्ने खालको विशेष रणनीति देखिन्छ। यसमा क-कसको संलग्नता छ भन्नेबारे अझै अनुसन्धान भइरहेकै छ।’

लुटपाट पछि ती व्यक्तिहरू फरार भएका थिए। पीडितले प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान गर्न टोली घटनास्थल पुगेको थियो। लुटपाटको घटना देख्ने प्रत्यक्षदर्शीहरू समेत प्रहरीको सम्पर्कमा छन्। प्रत्यक्षदर्शीहरूले लुटपाट हुँदा तानातान समेत भएको देखेको प्रहरी स्रोतले जनाएको छ।

घटनास्थलबाट एक जनाको फोन पनि खसेको अवस्थामा फेला परेको थियो। रेड्मी कम्पनीको फोन, सामसुङको स्मार्ट वाच पनि प्रहरीले बरामद गरेको छ। त्यही फोन बरामद भएपछि प्रहरीको संलग्नता भएको खुलेको हो। यस घटनामा अहिलेसम्म दुई जना प्रहरीको संलग्नता भएको खुलेको छ। संलग्न हुनेमा एक जना सिपाही र अर्का हवल्दार रहेको प्रहरी स्रोतले बतायो।

‘उनीहरूको ६-७ जनाकै समूह छ। जसमध्ये दुई जना समातिए,’ स्रोतले भन्यो, ‘अरूको खोजी भइरहेको छ।’ अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरले यस घटनाको अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि डाँका चोरीसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट गत बुधबार पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ।

यस घटनामा संलग्न व्यक्तिहरूको पहिचानसमेत गरिसकेको एक प्रहरीले बताए। उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ। लुटपाटमा संलग्न प्रहरी पक्राउ परे कि परेनन् भन्ने प्रहरीले खुलाउन चाहेको छैन।

साभार : रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *