सच तक नेपाल डेस्क,
२१ जेठ, रौतहट । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा ट्रकले ठक्कर दिँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना गराउने ट्रक चालक प्रहरीले भगाएको भन्दै स्थानीय वासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।
शनिबार मध्यान्ह पौने १२ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले गल्छीबाट सिम्ले आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा अटो चालक धादिङकै निलकण्ठ नगरपालिका-५ का कमलबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते श्रेष्ठलाई अस्पताल नलगी स्थानीय प्रहरी बिटले दुर्घटना गराउने ट्रकलाई गजुरी प्रहरी वृत्तमा पुर्याएको पीडित पक्षको आरोप छ । दुर्घटना गराउने चालक र चालक भगाउने प्रहरीलाई कारबाही सुनिश्चित नभएसम्म अवरोध कायमै रहने भन्दै स्थानीय अहिले प्रदर्शन गरिरहेका छन् । उनीहरूले मृतकको शव समेत उठाएका छैनन् ।
साभार : अनलाइन खबर