
सच तक नेपाल डेस्क,
१६ वैशाख, रौतहट । स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ३५ उम्मेदवार निर्विरोध निर्वाचित भएको अध्यक्ष माधवकुमार नेपालले जनाएको छ ।
आज ९शुक्रबार० आयोजित एकीकृत समाजवादी र जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालयमा सम्बोधन गर्दै अध्यक्ष नेपालले ३५ उम्मेदवार निर्विरोध निर्वाचित भएको बताए ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना उम्मेदवारको एकल उम्मेदवारी परेको थियो । नेपालले आफ्नो पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
“यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रुपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरु मध्ये हाम्रो पार्टीसँग जोडिएका, एकीकृत समाजवादीसँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरु निर्विरोध निर्वाचित भए ।” अध्यक्ष नेपालले भने ।