सचतक नेपाल डेस्क,
१४ वैशाख, राैतहट । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ देखि लागु हुनेगरी शनिबार र आइतबार दुई दिन बिदाको निर्णय भएको नियमित पत्रकार सम्मेलन मार्फत जनाएका हुन् ।
सरकारले परीक्षणका रुपमा साताको दुई दिन बिदाको कार्यान्वयन गर्ने पनि जनाएको छ । साथै सातामा दुई दिन बिदा दिने निर्णयसँगै कार्यालय समय भने बिहान साढे ९ देखि र साँझ साढे ५ बजेसम्म तोकिएको छ ।
विदेशी मुद्राको सञ्चितिमा पनि चाप परेपछि सरकारले सतर्कता अपनाएको हो । सरकारले पेट्रोलियम पदार्थको बढ्दो खपत कम गर्ने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा निर्णय गरिएको पनि प्रवक्ता कार्कीले बताए ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । त्यस्तै, सरकारले जेठ १ गतेदेखि लागू हुनेगरि बिहान ९:३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।
हप्तामा दुईदिन बिदा भएपनि कार्यालय समय भने बढाइएको छ । अहिले यो प्रावधान परीक्षणका रुपमा हुने उनले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको हो ।
नेपाल आयल निगमले पनि केही समय अघि हप्तामा दुईदिन सरकारी बिदाको प्रस्ताव गरेको थियो ।मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’
नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद्मा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो । यो निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको छ ।