सचतक नेपाल डेस्क,
१ वैशाख,राैतहट । आज विक्रम सम्वत २०७९ को पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।
आजदेखि नयाँ वर्ष प्रारम्भ हुँदैछ । आज दिनभरि सबैतिर शुभकामना आदानप्रदानको कार्यक्रम भइरहन्छ । औपचारिक र अनौपचारिकरूपमा शुभकामना आदानप्रदान गर्ने तथा सामाजिक सञ्जालमा शुभकामनाका शब्दहरू राख्ने काम दिनभरि नै भइरहन्छ । नयाँ वर्षको प्रारम्भ प्रायः यस्तै तरीकाले हुने गर्दछ ।
सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनि गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
नयाँ वर्ष आफैं ढोल बजाएर आउँदैन । यो अनुभूति हो र समयको एउटा मापन हो । समयको भौतिक मापन कतै देखिनुपर्ने हो तर यो क्यालेन्डरमा नापिन्छ । आजदेखि सर्वसाधारणको घरमा नयाँ पात्रो फेरिएको छ । नयाँ पात्रोले घरमा नयाँ वर्षको सङ्केत दिन्छ । नयाँ पात्रोमा पहिलो दिन आजै हो । यसकारण पनि नयाँ वर्ष मानिएको हो ।
आजदेखि जुन नयाँ वर्ष प्रारम्भ भएको छ । यसको पृष्ठभूमि तयार गर्ने २०७८ ले खासै नयाँ र सुखद सन्देश ल्याउने वर्षको रूपमा आफ्नो पहिचान कायम गर्न सकेन । कोरोना महामारीको भयङ्कर त्रास रहेको समयदेखि त्यो वर्ष शुरू भएर राजनीतिक, न्यायिक तथा आर्थिक क्षेत्रका धेरै उतारचढाव गर्दै निर्वाचनको मुखमा आएर समापन भएको छ । बितेको वर्षले मुख्यगरी आर्थिक क्षेत्रमा निकै गहिरो प्रभाव पारेको विश्लेषण गरिएको छ र देश चुनावको सँघारमा पुगेको छ । यस नयाँ वर्षमा देशमा चुनाव हुन्छ नै ।
नयाँ वर्षको पहिलो महिनामा पालिकास्तरको चुनाव र यसै वर्ष कुनै उचित समयमा प्रदेशसभा तथा प्रनिनिधि सभाको चुनाव पनि हुने करीब निश्चित छ । यसै कारण राजनैतिक क्षेत्रमा २०७९ लाई चुनावको वर्ष पनि भनिएको छ । यस वर्ष सबै चुनावहरू शान्तिपूर्ण रूपमा सम्पन्न होऊन् । देशमा शान्ति र स्थिरताको सरकार बनोस् । देशका नागरिकलाई चाहिएको विकास होओस् । नागरिकको सबै चाहना पूरा नभए पनि कम्तिमा शान्तिको चाहना भने पूरा होओस् । देशको अर्थतन्त्र बलियो भइरहोस् र देशमा सर्वत्र शान्ति रही त्यही शान्तिको धरातलमा सबैले समृद्धिको सपना देख्न सकून् ।
नेपाली नयाँ वर्ष २०७९ को शुभ अवसरमा Sachtaknepal.com को तर्फबाट नेपालमा र संसारभर छरिनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना ।