सच तक नेपाल डेस्क,
१६ चैत, राैतहट । आगामी चुनावमा गठबन्धन गरेर स्थानीय तहको चुनाव लडने भएपछि राजनीतिमा महिलालाई विभिन्न संकट आउन सक्ने नेतृहरुले आशंका व्यक्त गरेकी छिन ।
आगामी बैशाख ३० गत्ते हुन लागेको स्थानीय तहको चुनावमा विभिन्न दलले गठबन्धन गरी चुनावमा जाने निर्णय गरे लगत्तै महिलाहरुले पाएको संवैधानिक हक गुम्ने खतरा रहेको अन्तरपार्टी महिला संजालकी प्रदेश कोषाध्यक्ष तथा नेतृ विभा ठाकुरले बताएकी छिन ।
उनले संवैधानिक व्यवस्था अनुसार प्रत्येक दलले स्थानीय तहको चुनावमा प्रमुख÷उपप्रमुख मध्ये एकजना महिला अनवार्य गरे पनि दुई दल मिलेर चुनावमा जाँदा दुबै दलले दुबै पदमा पुरुषलाई नै उम्मेदवार बनाएपछि महिलाले पाएको अधिकार गुम्ने र महिला फेरी राजनीतिमा पछाडी पारिने सम्भावना रहेको नेतृ ठाकुरको आशंका रहेको छ ।
बुधबार जनकपुरमा अन्तरपार्टी महिला संजालको आयोजना तथा ओरेक नेपालको सहयोगमा आयोजित ‘राजनीतिमा महिलाको अर्थपुर्ण सहभागिता साथै हिंसा प्रभावितको बारेमा गोष्ठी विषयक कार्यक्रममा ’ विभिन्न दलको प्रतिनिधित्व गरी आएका महिला नेतृहरुले सक्षम,सबल र जनताको पीडा बुझेकी महिला भन्दा पनि पार्टी अध्यक्षहरुको पकेटको मान्छेले चुनावमा टिकेट पाउने गरेको आरोप लगाए ।
नेपाली कांग्रेस धनुषाकी नेतृ सम्झना वर्माले पार्टीमा ३३ प्रतिशत महिलाको सहभागिता रहेपनि ती महिलाहरु कसैको बुढि वा कुनै नेताको नजदिकको व्यक्ति रहेको आरोप लगाइन ।
लोसपा नेतृ सरिता शर्माले आगामी निर्वाचनमा वडाअध्यक्षमा पनि महिलाले टिकेट पाउनुपर्ने बताउँदै महिलाको बहुमत भएपछि मात्र उपप्रमुखले कुनैपनि निर्णय गर्नसक्ने बताइन । अहिले अल्पमतमा रहेकी उपप्रमुखले चाहेर पनि पालिका प्रमुखको गलत कामको विरोध गर्न न सकेकी र गरेपनि उनको आवाज दबाइएको बताइन ।
जसपा नेतृ सीता यादवले राजनीतिप्रति महिला सचेत न रहेकोले पनि विभेदको सामना गर्नुपरेको गुनासो गरिन । उनले भने वडा देखि पालिका सम्म टिकेट वितरणमा केन्द्रले कुनै हस्तक्षेप न गर्ने निर्णय भएकाले महिलाले सम्मानजनक सीट पाउने आशा व्यक्त गरिन ।
माओवादी नेतृ रामकुमारी यादवले पार्टीले डिग्री हैन महिला नेतृको लगानी,योगदान तथा सक्षम छिन कि छैनन हेरेर टिकेट वितरण गर्नुपर्ने बताइन । पार्टीले आन्देलन गर्ने समयमा योग्यता न देखेपनि टिकेट वितरण वा कुनै पद दिने समयमा योग्यता खोज्नु गलत हो नेतृ यादवले गुनासो गरिन ।
यता एमाले नेतृ संयोगिता साहले जबसम्म पार्टीले हाम्रो हैन राम्रोलाई टिकेट दिदैनन सक्षम नेतृत्व पाउँदैनन बताइन । अल्पसंख्यकलाई संख्याको आधारमा राजनीतिमा हेप्नु गलत प्रवृति रहेको उनले बताए ।
कार्यक्रममा विभिन्न दलकी नेतृहरुले आ आफनो गुनासो राखिन । कार्यक्रमकी सहजकर्ता तथा संचालक ओरेक नेपालकी धनुषा अध्यक्ष रोजलिन बछारले आगामी चुनावमा महिलाको अर्थपुर्ण सहभागिताका लागि विभिन्न पार्टीहरुमा ध्यानाकर्षण पत्र बुझाउने बताइन ।