
सच तक नेपाल डेस्क,
जनकपुरधाम । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा छापा हानेको छ । जानकी मन्दिरमा विद्युतीकरण गर्ने योजनामा अनियमितता भएको गुनासो बढेपछि अख्तियारले वृहत्तरको कार्यालयमा छापा हानेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट पुगेको टोलीले बुधबार छापा हानेर वृहत्तरको कार्यालयबाट विद्युतीकरणसम्बन्धी कामबारे जानकारी लिएको छ ।
अख्तियारको टोलीले वृहत्तरमार्फत जानकी मन्दिरमा भएको विद्युतीकरणसम्बन्धी कामको अनुमगनसमेत गरेको छ ।
अख्तियार बर्दिवास कार्यालयका सूचना अधिकारी विजयकुमार शर्माले वृहत्तरमार्फत जानकी मन्दिरमा भएको विद्युतीकरणसम्बन्धी कामको अनुगमन भएको जानकारी दिए।
‘जानकी मन्दिरमा वृहत्तरले गरेको विद्युतीकरणसम्बन्धी कामको अनुगमन गर्ने काम भएको छ,’ शर्माले आयोमेलसँग भने, ‘अनुसन्धान भइरहेको छ। अहिले हामीले भन्ने कुरा यतिमात्रै हो ।’
जानकी मन्दिरमा विद्युतीकरणसम्बन्धी कामका बारेमा परेको उजुरीको आधारमा फाइलहरू नियन्त्रणमा लिइएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ।
वृहत्तरका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीराज ढुंगानाले अख्तियारको टोलीले जानकी मन्दिरमा भएको विद्युतीकरणसम्बन्धी कामको अनुगमनमात्र गरेको बताए।
जानकी मन्दिरसहित विभिन्न मन्दिरमा विद्युतीकरणका लागि मधेस सरकारले विनियोजन गरेको रकममा वृहत्तरले अनियमितता गरेको आरोप लागेको छ।
मधेस सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा जानकी मन्दिर, लक्ष्मण मन्दिर, विवाह मण्डप, राम मन्दिर, गंगा सागर पोखरी, स्वर्गद्वारी र बारास्थित गढीमाई मन्दिरमा विद्युतीकरण गर्न वृहत्तरलाई १२ करोड बजेट उपलब्ध गराएको थियो। तर, बजेट अपुग भएको भन्दै वृहत्तरले जानकी मन्दिर, लक्ष्मण मन्दिर र विवाह मण्डपमामात्र विद्युतीकरण गरेको छ।
१२ करोड बजेट विनियोजन भएकोमा वृहत्तरले ११ करोड ७४ लाख रूपैयाँको एकमात्र टेण्डर स्वीकृत गरेको थियो। टेण्डरमा राखिएको स्पेसिफिकेसन नै ‘सेटिङ’ मिलाएर राखिएको ठेकेदार कम्पनीहरूले आरोप लगाएका छन्।
योजनाअन्तर्गत ४४७ थान चिम, सेक्युरिटी मेटल डिटेक्टर ४३ थान, सोलार स्ट्रिट लाइट १६ थान, स्ट्रिट लाइट ४८ थान, स्पिकर ७४ थान, ३० केभिएको स्टेपलाइजर र युपिएस जडान गरिएको वृहत्तरले दाबी गरेको छ।
तर, वृहत्तरले दाबी गरेअनुसार मन्दिर सौन्दर्यीकरणका लागि कुनै काम नभएको स्थानीयको आरोप छ। मन्दिर सौन्दर्यीकरणका लागि भन्दै विद्युतीकरण कार्यमा अनियमितता भएको गुनासो बढेपछि छानबिन गर्न अख्तियारले चासो देखाएको छ ।