
सच तक नेपाल डेस्क ।
रौतहट । जिल्लाको सदरमुकाम गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन । गैर ढंगले गरिएको तोडफोडमा २ जना पक्राउ परेका छन् ।
विद्यालयले एउटै विद्यालयमा दुई थरीको शुल्क उठाएको विद्यार्थीहरुको भनाई छ । केही महिना पहिले विद्यालयले चर्को शुल्क उठाएको भन्दै आन्दोलित भएका थिए । आन्दोलन पश्चात विद्यालय प्रशासन, अभिवावक र विद्यार्थीहरुले बीच बसेको बैठकबाट ८ बुँदे माँग पुरा गर्ने निर्णय भएको थियो ।
विद्यार्थीका अनुसार शुल्क मिनाह भएपनि अवैध तरिकाले असुल गरेको शुल्क अझै फिर्ता पाउन सकेका छैनन् । विद्यार्थीहरुले गरेको हिंसात्मक रवैयालाई विद्यालय प्रशासनले आलोचना गरेका छन् । केहि विवाद परेमा तर्कले सामाधान तिर लाग्नुपर्नेमा विद्यार्थीहरुले हिंसालाई बढावा दिएको विद्यालय प्रशासनको भनाई छ । विद्यालयका शिक्षकहरुलाई समेत हातपात गरिएको प्रत्यक्षार्थीहरुको भनाई छ ।
हिंसात्मक तरिकाले गरिएको आन्दोलनमा विद्यालयको अधिक सम्पति क्षति भएको छ । प्रहरीले तोडफोड तथा आगजनी गर्ने २ जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनेरास्वयू मधेश प्रदेशका कमिटि सचिव रवि मिश्र र स्थानीय आशिष झालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई थरिको शिक्षा प्रदान गरिरहेको सो विद्यालयले नेपाली माध्यममा पढने विद्यार्थीहरुलाई निशुल्क र अगे्रंजी माध्यममा पढने विद्यार्थीहरुले बोर्डिङ्ग स्कूलमा झै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क तिर्नु परेको विद्यार्थीहरुले बताएका छन ।
आक्रोशित विद्यार्थीहरुले विद्यालयमा रहेका खानेपानीका ट्याङ्कहरु, कुर्सी लगायत विद्यार्थीका रेकर्ड आगजनि र तोडफोड गरेका छन ।
विद्यार्थीहरुले उग्र प्रर्दशन गर्न थालेपछि विद्यालयका प्रधानाध्यापक लगायतका पदाधिकारीहरु विद्यालय छोडेर निस्कीएका छन । यस भन्दा पहिले पनि विद्यार्थीहरुले प्रदर्शन गर्दा विद्यालयका कर्मचारीहरु घाइते भएका थिए ।